POEM-NEPALI

A Beautiful Poem–मेरो आर्तनाद र आग्रह– BY Krishna BishowKarma

कबिता : ” मेरो आर्तनाद र आग्रह ”
=====================
ए कवि ज्यु ,
तिमी त रवि नपुग्ने ठाउँमा पनि पुग्छौ रे !
हो र ?
म दिन तयार छु
मेरो भूगोलको साबिती बयान
लौन कृपा गर
मेरा आर्तनादहरु
छन्दबद्ध गरी
ब्रह्माण्डमा
शंखघोष गरिदेऊ

कवि ज्यु,
अहँ….,
अब म सक्दै सक्दिन
लज्जावती झार झैँ खुम्चिन
न त सक्छु अब
लाटोकसेरा झैँ वाल्ल पर्न
बर्षौं भो निदाएको कुम्भोकर्ण झैँ
भासिएर पालालिएको सेती झैँ
हो कवि ज्यु,
तिमी अब अन्टार्क्टिका पुग्नै पर्दैन
ल लेख आजै
म भन्छु सबिस्तार
मेरै भूगोलको वास्तविक दर्पण
हेर त ,
मेरै छिमेकी मन्दिरमा अमृतपान गरेर
पधेरामा मेरो अघि
बिष बमन गर्छन्
बालक बली चढाउँछन्
सडक-सडक
ताण्डव नृत्य देखाउँछन्
अनि देखाउँछन्
धारिला तलबारहरु
तापमान बढाएर तर्साउँछन् फेरि
तात्दै नतातेका लोहाहरुलाई !
मेरो आग्रह सुन्छौ त कवि ज्यु ….. ?
ल सुन ,
न म हिंस्रक थें न हुँन चहान्छु
झिंगा जत्रो मेरो भूगोलका
वल्ला घरे- पल्ला घरे मेरा छिमेकीहरु
आउँन् मेरो घर
सदभावले भजन-कृतन गरुँन्
हातमा हात मिलाएर
काँधमा काँध मिलाएर
नाचुँन अनि नचाउँन्
उस्को आँगनमा म खेल्न पाउँ
मेरो आँगनमा ऊ खेलोस्
नहोस बीचमा कतै, कुनै
बिभेदका पर्खालहरु
ल हेर त कवि ज्यु,
मलाई…..,
कतै काग बनाइयो
कतै चिबे बनाइयो
कतै सारौ बनाइयो
लुटी रहे निरन्तर- निरन्तर
बकुल्ला, चील र गिद्ध भेषधारीहरुले….
राजनीतिको नाउँमा
गरिबीको नाउँमा
जातको नाउँमा
सर्वहाराको नाउँमा
धर्मको नाउँमा…..
हेर त कन्तबिजोक
म र मेरो भूगोलको !
हो
कवि ज्यु ,
स्वच्छ छविका मियो छ भने
मेरो नजरमा कतै
अब त्यो तिमी हौ
जागरण फैलाऊ
फुक बिगुल
चाहे मेरो आर्तनाद
मन्दाक्रान्तामा लेख वा लोक छन्दमा
अनि,
आह्वान गर सबै-सबै
गजलकार, कथाकार, उपन्यासकारहरु……
र,
बनाउ अब मेरो भूगोल कविमय
सिंहाशनमा बसी
कवि नीति अक्षरश: लागू गर
अनि,
निरुत्साहित पार अब बिभेद्पूर्ण राजनीति
साच्चै……
नत्र कवि ज्यु,
तिम्रा सबै- सबै
साहित्यिक दर्पणहरु मेरा बस्तीहरुमा
मिथ्या हुनेछन्…..
केवल कोरा कल्पना हुनेछन्……
– कृष्ण बिश्वकर्मा
भरतपुर, चितवन
हाल : यु. ए.ई , आबु धाबी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *