STORY

लेख :- जात फाल—-को हुन् खस ?

बेबिलोनको कस्साइटबाट पूर्व हिडेका कस्साइट्सहरु अफगानिस्तानबाट दक्षिण नलागेर पहाडैपहाड अझ पूर्व उक्लेका थिए । कस्साइटबाट आएकाले यिनहरु कसबाट अपभ्रंस भएर खस हुनपुगे । काश्मिर (खस/कसमिर. खस /कस हरुको मिर = अग्लोस्थान), कुमाउँ, गढवालबाट अझ पूर्व लाग्दै यिनीहरूले कर्णाली प्रदेशमा आएर बाह्रौँ सताव्दिमा राज्य सञ्चालन गरेको देखिन्छ, जसको पूवी साँध गण्डकी सम्म थियो ।

खसहरु आर्य भएपनि वैदिक आर्य भने होइनन् । न त यिनीहरू बैदिक आर्यले जस्तो वेद अनुसार, बेदी (होमगर्ने स्थान) बनाएर या लिङग पुजक नै थिए । लिङग पूजा पनि बैदिक आर्यहरुको होइन, असुर द्रविडहरुले गर्ने लिङग पूजा पछि आत्मसात गरेका थिए ।
 
खसहरुको धर्मः
 
खसहरु सबै मष्ट र प्रकृति पुजक नै थिए । मष्ट पूजा गर्न या मृतक आत्मा जगाउन धामी भएता पनि हिन्दुधर्ममाझैँ कुनै जातीय बिभाजन थिएन । महामानव बुद्धको सन्देश प्रचारसँगै चल्ल र पछि मल्ल भएकाहरुले बौद्धधर्मलाई अपनाउ“न थाले । सुर्खेतको काँक्रे बिहार त्यसैको नतिजा हो । बि.सं. १३६० मा अल्लउदिन खिल्जिले चितोर लिएको अर्को वर्ष त्यहाँका रायठौरलाई (अहिलेका राठौर) अल्लाउदिन खिल्जिले उठिबास पारेपछि भारतका हरुवा राजारजौटाहरुको नेपाल प्रवेश देखिन्छ । यिनलाई महाराज जसु शाहीले आफ्नो छोरी हारमता दिएर समाचवर भन्ने स्थान दाईजोमा दिए । हारमताकी छोरो देवचन्द्ररले बि.सं.१४८४ मा काठमाण्डौं लुटेर फकिर्एपछि बाजे जसु शाहीले अछाम बुढी चर्पुकोट राज्य दिएका थिए ।
 
थकालीः
 
जसु शाहीका कान्छा छोरा हंसराज शाही जुम्लाबाट थाकखोला आएर बसे । उनले त्यहीका स्थानीयसँग विवाह गरे । उनलाई ठकुरीको सट्टा “थकुली“ भनेर बोलाईन्थ्यो । कालान्तरमा उनैका सन्तान पछि थकाली भए ।
खसहरुमा बिचलन, जातपात र हिन्दु धर्मः
भारतका रजौटाहरुसँग सम्पर्क बढेपछि खस राजाहरु उनीहरूसँग विवाह सम्बन्धका लागि उत्सुक हुन थाले । तर वैदिक हिन्दु तगाधारी (जनै लगाउने) राजाहरु अहिन्दु र तागा नलगाउने खसहरुसँग विवाह सम्बन्ध गाँस्न तयार भएनन् । यहीबाट उताको ठाकुर, राजपुत जस्तै खस राजाहरु र नातेदारहरुले आफूलाई “ठकुरी“ भन्न थाले र हिन्दुधर्म अपनाएर जनै लगाउन थाले । तर केही खसहरुले भने हिन्दु धर्म र जनै अस्वीकार गरिरहे र आज तिनै खसहरु पावइ खसका रूपमा चिनिन्छन् । हिन्दु धर्म अपनाउनाले जातपातको सुत्रपात स्वतः हुनगयो । यस कार्यमा कन्नौजबाट नेपालभित्र आएका अत्री ऋषिका चारभाइ सन्ततीहरुले अझ सहयोग गरे । ती मध्ये जेठा भाष्कर भट्ट षत्याडा बसे । यिनैका सन्तान पछि षत्याडा (खतिवडा) भएका हुन् ।
तर ढाँटेको कुरा काटे पनि मिल्दैन भनेझैँ खसहरुले पुर्खौँदेखि गरिआएको कतिपय परम्परागत् प्रचलनहरु त्याग्न सकेनन् र अझसम्म त्याग्न सकिएको छैन् । जमरा, अक्षता, पर सरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि कार्यहरू आज पनि नेपालका जनसुकै जातले गरिआएका छन् ती चाहे हिन्दुमतालम्बी हुन् या बौद्धमतालम्बी, सबै खस हुन् । पश्चिमबाट आएर काठमाण्डौं जिति राज्यगर्न सुरु गरेका मल्लहरुले आफ्नो साथमा ल्याएका जोशि राजोपाध्याय जस्ता पुरोहितहरु पनि छ डोरे जनै नै लगाउँछन् र तर खसका प्रचलनहरु भने अझै त्याग्न सकेका छैनन् ।
 
शाह र रक्तसमिश्रणः
शाहहरु इस्लामधर्म मान्नेका सन्तान नभएर मगरहरुका थकाली या राजा हुन् । यिनीहरू पनि खस नै हुन् र पछि मात्र हिन्दुमतालम्बी भएका हुन् । हिन्दुमतालम्बी भए पनि शाहहरुले जमरा, अक्षता, परसरेको बार्ने, देवाली, मष्टपुजा, छोरीलाई ढोग्ने, भान्जालाई आदर गर्ने आदि परम्परागत् प्रचलनहरु अझसम्म त्याग्न सकेका छैनन् । पृथ्वीनारायण शाहको मावली मगर थिए भने ससुराली मकवानपुरका सेन पनि मगर नै हुन् । रणबहादुर शाहले बालबिधवा ब्राम्हणीसँग विवाह गरेका थिए । यिनैका छोरा गिर्वाणयुद्ध बिक्रम हुन । कुँवरहरु पनि तीन डोरे जनै लगाउने खस नै हुन् । राजा सुरेन्द्रले जंगबहादुरलाई हपार्दैै, “तँ खस भएर हाम्रो युवराज्ञी ताक्ने,” भनेर हपारेका थिए तर त्यतिवेलाका बलसाली  जंगबहादुरले राजपरिवारसाग वैवाहिक सम्बन्ध कायम गरेरै छाडे । राजा त्रिभुवनले पञ्जावका राजकुमारीसँग विवाह गरेका थिए । धीर शम्शेरले १८५७ मा लखनउबाट मुगल कन्या जौहर बानो (जुहार बेगम) लाई ल्याएका थिए । उनै मुगलकन्या जौहर बानोबाट जुद्ध शंशेर जन्मिए भने जुद्ध शम्शेरबाट केन्द्र शंशेर । केन्द्र शम्शेर राजा वीरेन्द्ररका ससुरा तथा रानी ऐश्वर्यका बुबा हुन् ।
 
खसहरुमा जातः
 
खसहरुमा धर्मको आधारमा नभएर कर्म, पद र स्थानको आधारमा बोलाइने चलन थियो, पछि यही नै जात हुनगयो ।
 
कार्यका आधारमा बनेका जातहरु
 
भट्ट – राज पुरोहित वा धर्माधिकारी
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
 
दर्जा, पदका आधारमा बनेका जातहरु
 
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
 
स्थानका आधारमा बनेका जातहरु
 
धिता– धिताल,
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
तिमिल्सैन– तिमिल्सिना वा तिम्सिना
घमिरगाउँ – घिमिरे
 
खसहिन्दु आफैमा बिभाजनः
 
पूर्वखाँट्टि खसहरु मनुस्मृती (जो वास्तवमा मनुले लेखेको नभएर भृगु ऋषिले लेखेका हुन्) का आधारमा कुनै जातमा बिभाजित थिएनन् । हरेक व्यक्ति आफूखुसि कर्म गर्न स्वतन्त्र थिए र आपसमा कुनै प्रकारको छुवाछुत पनि थिएन । राजारजौटाहरु हिन्दुमतालम्बी हुनु, भारतका राजारजौटाहरुसँग विवाह सम्बन्ध कायम गर्नु र साथसाथै उनीहरूको प्रचलन अपनाउनु र कन्नौजबाट आएका भट्टहरुका कारण बिस्तारै जातपातको सुत्रपात हुनगयो र यो सँगै पछुवाछुतको प्रथा सुरु भयो । तर यहाँ पनि एकरुपता भने कायम छैन । ब्राम्हणहरु आफै उपाध्याय जैशी, कुमाइ आदिमा बिभाजित छन् । यिनीहरुमा उच्च कुल र नीच कुल भन्ने सोच कायम छ र एकआपसमा बिहावारि चल्दैन । कसैको मृत्यु भएमा हिन्दुस्तानका हिन्दुहरु नुन बार्दैनन् तर अशौचमा नुन बार्ने कार्य खसहरुले गर्थे, जो अहिले पनि कायम छ । शाहकालमा पाँडेहरुले नियम बनाउँदा आफूहरुलाई सिधे नुन (खानीको नुन), पालुंगो, मुँगको दाल आदि चल्ने अरूलाई नचल्ने नियम बनाएर अरूलाई भने लोप्पा ख्वाइदिए । राज्यको युवराज घोषित गर्नुपूर्व राजा सश्त्रशिल्पीको आरनमा गएर पूजा गर्दथे, सश्त्रशिल्पीलाई पूजा गरेर तरबार बनाउने अभिारा दिन्थे र त्यही तरबार युवराज घोषित गर्ने दिन युवराजलाई सश्त्रशिल्पीले दिन्थे । यिनै सश्त्रशिल्पी आज कामी कहलाइएर कसरी अछुत भए ! ताज्जुप लाग्छ ।
कुनै पनि कुराको बारेमा बुझ्न सबैभन्दा पहिले मूलमा नै पुग्नु पर्छ । मूल खुलेपछि सबैकुरा छर्लङग हुन्छ । त्यसैले मूल हेर्ने हो भने माथि नै लेखिएको आधारमा हामी खस हौ“ र हामीमा जातपात छुवाछुतको प्रचलन थिएन । त्यहाँ बनेको तरबार जति नियम बने, पछि बनेका हुन् । गान्धीले भारतमा तल्ला जातीका सबैलाई उकमुष्ट गरेर हरिजन नामाकरण गरे तर त्यसको कुनै उपादेयता भने निस्किएन । उल्टो, राजनीति नेताहरूको लागि यो राजनीति र भोट सङ्कलन गर्ने अचुक अश्त्र बन्न गयो, जुन नेपालमा पनि देख्न सकिन्छ ।
त्यसैले सम्बिधानमा लिखित रूपमा नै छुवाछुत र जातपातमाथि प्रतिबन्ध किन नलगाईयोस्, हाम्रो आजको मानसिकतालाई आधार मान्ने हो भने जातपात र छुवाछुत हटन अझै कम्तीमा १०० वर्ष लाग्नसक्छ भने के १०० वर्षसम्म यही रितिमा चल्ने ? २००७ साल पछि नाटककार बालकृष्ण शम्शेरले सम लेख्न थाले । भारतका प्रख्यात कवि तथा महान् अभिनेता अमिताभ बच्चनका पिता हरिवंश राय बच्चन श्रीवास्तव हुन र जातले कायस्थ हुन् । आज हरिवंशका छोराहरु बच्चन भएका छन् र नाति पनातीहरु पनि बच्चन नै लेख्नेछन् । कालान्तरमा उनीहरू सरनेम बच्चन नै हुनेछ ।
नेपालभित्र हामी जहाँ जाऔँ, पहिले अनुहार हेरिन्छ, जात खुट्याउन नसके नाक हेरिन्छ र त्यसपछि पनि केही नलागेपछि जात सोधिन्छ । र जब जात उजागर हुन्छ तब हाम्रो घृणित जातपात र छुवाछुतको मानसिकता सक्रिय हुन्छ । आज विश्व एकिकरण भइरहेको बेलामा हाम्रो मानसिकता भने अझै जातमै अडकिएको छ । त्यसैले जातपात र छुवाछुतलाई फाल्ने नै हो भने मेरो बिचारमा सबैभन्दा पहिले जात फाल्नु पर्छ । जब जात नै नभएपछि कसले सोध्छ जात ?
 
(यो मेरो व्यक्तिगत बिचार हो । कसैलाई व्यक्तिगत रूपमा चोट पार्ने मेरो उदेश्य  होइन् । साथै, इतिहासको जानकार नभएकोले दिईएका तथ्यहरू तलमाथि पनि पर्न सक्छन्, धन्यवाद ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *