STORY

दि फ्रेन्ड्स (कथा) –The Friends – A story by निर्मला खड्का

दि फ्रेन्ड्स (कथा)
फ्रेन्डस अनि फ्रेन्डशिप । संसारिक सबै भन्दा स्वादिलो शब्द । हर उमेरकालाई लोभ्याएर राख्ने । अझ भनौं युवाहरु माँझ बिस्वसिलो अर्थ बोकेको शब्द हो यो । आन्तरिक भावनाले निथ्रुक्क रुझेको सम्बन्ध यहि नै होला । त्यसैले त यो सम्बन्धमा उमेरको कुनै हद बन्दि छैन । न त लिङ्गमा नै कुनै मतभेद छ । यहि सम्बन्धमा कती नियत उज्यालो बोकेर हिडेका छन् । कोइ अँध्यारो नियतमा समाहित भएका छन् । साथी … जसको साथले कतै मनलाई रोमान्चित अनि प्रफुल्ल बनाई दिन्छ । जसको अनुभूतीले आत्मिक बल प्राप्त हुन्छ । त कतै मन भताभुङ्ग भै दिन्छ र त्यस्तै साथको सोचले मात्र पनि त्रसित पार्छ । जीवन यस्तै यस्तै बबण्डरमा रुमलिएको छ ।
अतीत जीवनको एउटा रंगीन तस्विर बनेर समयको भित्तामा झुन्डिई रहेको छ । त्यहि तस्विर कुनै बेला निकै मधुरो देखिन्छ त कहिले अती चटकिलो हुदैं दृश्यहरु झन् स्पस्ट हुन्छन ।
रविना ! मेरो अतित जुन मेरो वर्तमानको भित्तामा टाँसिएर रहेकी छ । मैले बेला बेला त्यो तस्विर आफ्नै नजरबाट मिल्काए जस्तै गर्छु ।
अंह ! सम्भव छैन । कहिले एकान्तमा बसेर त्यहि तस्विर नियाली रहन्छु । तस्विरको कुना काप्चामा जमेको धुलो पुछी दिन्छु । तस्विरलाई सम्भवत चम्काउछु । धुमिल तस्विरमा दृश्यहरु प्रष्ट हुन्छन ।
कुनै एक दिन हाम्रो जीवन विद्यार्थीमय थियो । बिद्यार्थी हुदै फेरी कतै मालिक कतै नोकर, कहिले साथी कहिले दुश्मन । यस्तै कयौं ट्रयाकमा हिड्ने गर्छ जीवन । तर हर बेला साथीहरुको साथ अहम भूमिकामा हुन्छ ।
सपनाहरु भेट्न हिडेका यात्रीहरु , यात्रीहरु चढेको गाडी… साँच्चै भन्नु पर्दा सहि स्टेसनमा रोकिदै रोकिन्न ।
उ एक्लै होटेलको कुनाको कुर्सीमा बसेकी थिई । थाहा छैन के कती सोचहरुको हिसाबमा भुल्दै, के कती पर्म र कर्मको मनन गर्दै समयको छालमा डुबुल्की मार्दै थिइ होली । म मेरो पेटमा भोकको काउकुती मेट्न हतार गर्दै क्यान्टिन छिरेकि थिएँ । चाउमिनको अर्डर गर्दै गर्दा मेरो नजर उमाथि पर्यो । मेरो नजर उसको एक्लोपनमा निकै बेर घोत्लियो । थाहा छैन किन मलाई उप्रती, उसको एकान्तमा सहानुभूती पलायो । उ अबोध देखिन्थि । नास्ता खादा सम्म पनि मैले उसलाई एकटक हेरी रहें । उ उस्तै सोचको भुमरीमा थिइ । म मोहित उठें । उसको नजिक गएँ ।
“नमस्ते ,म गीत ..म यो अस्पतालमा इन्टर्नशिप गर्दै छु । सायद तपाईको कोहि आफन्त बिरामी हुनु पर्छ “ मैले अनुमानित बातचितको सिलसिला सुरु गरें । उसले बडो अनौठो नजरले मलाई हेरी । मुखबाट एक शब्द बोलिन । लथालिङ्ग भएर उसको कुम चुम्दै गरेको कपाल.. खुल्ला खुल्ला ड्रेस अप अनि कुनै लिपापोती बिनाको सादा मुहार.. उ निकै सुन्दर थिइ ।
“ चिया पिउने ?” मैले सोधें ।
“नाई , हैन बरु हार्ड ड्रिंक पिउने .. जुन भए पनि हुन्छ ..एक पेग “ उसले उस्तै मलिन भएर बोली । निकै खस्रो तर उदासीले रुझेको स्वर । उसले मलाई चिढाउन त्यसो भनि या साँच्चै यती बेला उसको आत्माको माग यहि थियो ..मलाई बुझ्न कठिन भो । अस्पतालको क्यान्टिन कर्नरमा बसेर हार्ड ड्रिंक माग्ने केटि … पक्कै स्वस्थ मनकि हुन सक्दिन । यस्तै सोच चम्कियो मेरो मस्तिष्कमा । मेरो मनोविज्ञानको अध्ययनले पनि यहि अनुमान गरायो ।
“यहाँ कफी कर्नरमा यो सम्भव छैन .. बरु अहिले अरु नै सफ्ट ड्रिंकहरुले काम चलाउन सकिन्छ ” मैले प्रस्ताव राखें ।
“ होस् न ,म नपिउने केहि पनि “ उ केहि नरम भए जस्तो गरि ।
“को बिरामी छ तिम्रो ?” मैले सोधें ।
“अह कोइ छैन “ उ बिस्तारै बोली ।
“आफ्नो लागि आएकी त ?” मैले छोडन सकिन उसलाई । उमेरमा उ मभन्दा सानी नै हुनु पर्छ ।
“ हैन .. यसै दिक्क भएर हिडेकी “ यसपल्ट उ अलि खुलस्त भई ।
“ अस्पताल परिसरको कफी कर्नरमा त्यतिकै आएर हार्ड ड्रिंक गर्ने सोच कसरि आयो त तिमीलाई ?” मलाई वास्तवमै अचम्म लाग्दै थियो । मानिसहरु यति खुलस्त भै सकेकोमा रमाइलो पनि ।
“बाटोमा हिड्दै थिएँ .. यहाँ नजर गयो ..छिरें बसें .. यस्तो सोच सहित यहाँ छिर्न कुनै अब्जेक्सन होला र ?” अहिले उ मलाई हेरेर हाँसी । निष्कपट थियो हाँसो । म पनि नमुस्काई रहन सकिन ।
मलाई लामो कुराकानी गर्न अनुमति थिएन । मेरो खाजा खान तोकिएको समय सकिई सकेको थियो ।
“ म ड्युटीमा छु त्यसैले अब जानु पर्छ .. तिमी बस्ने कि जाने ?” मैले औपचारिक प्रश्न तेर्साउदै उठें ।
“मेरो जानै पर्ने कुनै निश्चित ठाउँ नै छैन यति बेला “ उ सरल भएर बोली ।
“ नयाँ हौँ यो सहरमा ?” सोधें ।
“अह .. हो तर पहिले पनि घुम्न आएको त थिएँ । यति बेला लामो बसाईको सोच छ । “ उ तल हेर्दै बोली ।
“ आज मसंग जान्छौ त ? “ किन किन मलाई उसको एक्लोपनले पिरोल्यो । उ केहि बोलिन ।
“ मेरो ड्युटी सकिन अझै तीन घण्टा कुर्नु पर्छ तिमीले । यदि जरुरि काम छैन भने यो समयमा यसो यता उता भुल्दै गर । तीन घण्टा पछी यहि भेटौ है त “ मैले हतार गर्दै भने । उसले ज्ञानी भएर टाउको सकारात्मक हल्लाई । म हतार गरेर क्यान्टिनबाट बाहिरिएँ ।
“ उ त्यहि पर्खेर के बसी होलि है । मानिस कति बोझ बोकेर हिड्छ समय अभावमा । मलाई त उसले आफ्नो नाम पनि भनिन… मैले पनि त सोधिन ” म ड्युटी सकेर क्यान्टिन तिर लाग्दा सोच्दै थिएँ । क्यान्टिनको ढोकाबाट सिधै नजर उही कुनाको टेबलमा पुग्यो ।
म दङ्ग परें । उ पहिलेकै जस्तै मुद्रामा उस्तै बसेकी थिइ । टेबलमा दुइवटा कोल्ड ड्रिंक्सको बोतल बढेको देखें । यति बेला पनि म नमुस्काई रहन सकिन ।
“ कतै गईनौ ?” सोधें ।
“ अहँ ! “ नकारात्मक स्वरूप टाउको घुमाई ।
“ उठ .. रूम जाऔं” मैले भने । उ मौन उठी र मसंग नजित्ने शर्त लगाए झैँ मेरो पाईलासंग पाईला जोडेर हिडी रही ।
हामी दुई यसरि भेट्टीएका थियौ । उसको नाम रविना थियो । हिड्दा हिड्दै मैले सोधे पछी भनेकी थि आफ्नो नाम । हामी गल्ली गल्ली छिरेर रूममा पुग्दा २० मिनट खर्च भएको थियो ।
“ म यहाँ मेरी एकजना साथीसंग बस्छु । डाक्टर सरिता .. उनि अहिले ड्युटीमा छन् । भोली बिहान मात्र आउनेछिन “ मैले चाबी खोल्दै भने । उ केहि बोलिन । म फ्रेश हुने मनसायले लुगा लिएर बाथरूम छिरे । उ एकतमास एकै ठाउँमा बसी रही ।
“ तिमी नुहाउने हो ?” उ संग सानो ह्याण्डब्याग बाहेक केहि थिएन ।
“ हुन्छ “ बिस्तारै बोली । मैले आफ्नै लुगा ल्याएर उसको हातमा थमाई दिएँ । उ चुपचाप उठी र बाथरूम पसी । म छेउको किचनमा पसें ।
“ मलाई भोक लागेको छ “ बाथरूमबाट निस्कदै उसले बालापन देखाई । म साँच्चै उसको हावभावमा र खुलापनमा रमाउदै थिएँ । हुन पनि दिनभरी केहि खाएकी थिइन होला ।
मैले खाना पकाएँ । उ हातमा मोबाईल फोन खेलाउदै कोठामा भएको बेतको कुर्सीमा बसी रही । क्यान्टिनमा जस्तै सोचमा गुमेर । मैले बोलाउदा हुँ हा गरेर आफ्नो उपस्थिती जनाई दिन्थी । मैले पनि उसको उदासीनतालाई ध्यानमा राखें । धेरै सवाल गरिन । उसो र मसंग आवश्यक बाहेक अरु सवाल प्राय कमै हुने गर्छन ।
यसरि हामी साथ् भएको हप्ता बित्यो । डाक्टर सरितालाई सबै यथार्थ भने मैले । आफ्नो ठेगान नभेट्दा सम्म केहि दिन यतै बसोस भने मैले । उ हाम्रो रुममा थपीएकोमा कुनै आपत्ति जनाईनन डाक्टर सरिताले । बरु उनि पनि उसको मौनता र मासुमपनमा रमाउन थालिन । काममा हामी यति व्यस्त भईन्थ्यो कि सामान्य कुराका खान तलास भुलीन्थ्यो ।
उसको हावभाव सानो बच्चाको जस्तै थियो । निकै कोमल अनि मासुम देखिन्थि ।
उ हप्तादिन कोठाबाट निस्केर कतै गईन । हाम्रै लुगाहरु शेयर गरेर लगाई रही । मैले खासै जानकारी खोज्न पनि भ्याएकी थिइन ।
हामी बाहिर जाँदा एक्लै बस्थि कोठामा । जस्तो छोडेर जान्थ्यौ उस्तै हुन्थ्यो हाम्रो कोठा । प्राय म आउन साथ् भोक लाग्यो भन्थी । सरितालाई भोक लग्यो भनेर कहिल्यै भनिन ।
दुइ महिना जति हामीसंग बसी । यी दिनहरुमा यो खान मन लाग्यो, त्यो खान्न, दिउस सुत्ने ..राती उठेर हिडी दिने । कहिले दुइ चार दिन बिना खबर लापत्ता हराई दिन्थी । केहि दिन पछी “म कोठामा आउदै छु गीत “ भनेर फोन गर्थी । एक पटक चार दिन हराउँदा कहाँ गएको भनेर सोधेकि थिएँ । आमालाई भेट्न गएको भनि । उसको बाबु र आमा हुनुहुन्छ भन्ने कुरा खोलेकी थिई । घर जाँदा आउदा दुइ दिन सकिन्छ भनेकी थिइ । बिस्तारै उसका यस्तै आदतहरु देखिन थाले । बडो अजिब थिइ उ । बाँकी सबै अधुरो अधुरो थियो उसको बाह्य रूपरेखा । यो सहरमा पढाई कै सिलसिलामा आएकी रे । लगभग दुइ महिना पछी बाणिज्य कलेजमा भर्ना लिई सकेको कुरा भनि । होस्टेलमा बस्नु पर्छ होला भनेर सुनाई । यो भन्दा बेसी कुरा भएन । सबै उसको निजि बिषय थियो ।
कुन बाणिज्य कलेजमा पढ्छे भन्न चाहिन । धेरै बोलक्कड पनि थिइन । हामीले खुबै सोधपुछ पनि रुचाएनौ । डाक्टर सरिता र मलाई उ हाम्रो बच्चा (सानी बहिनि ) जस्तै भएकी थि । सरिता भन्दा म उसको अती नजिक थिएँ ।
उसको स्वभाव हामीहरुको भन्दा निकै भिन्न थियो । चुपचाप आफैमा गुमी रहने उसको आदतले हामीलाई उसको उपस्थितीमा कुनै अफ्ठेरो पनि पार्दैनथ्यो ।
अनौठो हाउभाउमा कहिले खाली भित्ता हेरेर बडो गजबले हाँसी दिन्थि । कहिले कोठमा छिरेका एक दुइ झिंगाको पछि पछि दौडेर पुरै दिन बिताई दिन्थि । उसका यस्ता क्रियाकलापले मानसिक रूपमा उ नितान्त एक्लो थि भन्ने दर्शाउथ्यो । मैले उसलाई छोड्न नसक्नुको बलियो कारण यहि थियो ।
दिन बित्दै गए । उ कहिले हामी संगै हुन्थी, कहिले आफ्नै होस्टेलमा त कहिले बाबु आमाको सहर पुग्ने गर्थी । यसरि नै पढाई सम्हालेकि थिई । खर्च पक्कै बाबु आमाबाट नै पाउने गर्थी होला ।
समय तरल छ र बगी रहन्छ । उ भेट्टिएको साढे दुई बर्षमा मैले मेरो पढाई सकें । उसको दुइ बर्ष बाँकी थियो । उद्धेश्यको गोरेटो पछ्याउदै हिड्दा हामि अघि पछी भएर हिड्न या छुट्टीनु त थियो नै ।
उ बिजनेस पढ्ने मान्छे म मेडिकल तिर हेल्लिएकी युवती । हामी बीच कुनै कुराको समानता थिएन । बिषय वस्तुको कुनै तालमेल मिल्दैनथ्यो तर मित्रतामा मिठास फुलेको थियो । हामीमा अनौठो घनिष्टता फक्रेको थियो ।
जागिरको तलाश सुरु भयो । म जागिरको सिलसिलामा कयौ ठाउँ पुग्थें । रहरले गर्दा केहि समयको लागि मैले फिल्डवर्क रोजेकी थिएँ ।
यता घरमा मेरो बिहेको कुरा चल्यो । प्रसङ्ग उठ्नु स्वभाभिक थियो । उमेर भैसक्दा पनि मैले आफ्नो कुनै बाटो रोजेकी थिइन । भनौ आफ्नो लागि कुनै फुर्सद निकाल्न भ्याईएन ।
मेरो बाबु आमाले मेरो लागि एउटा कम्प्युटर इन्जिनियर केटा खोज्नु भयो । हाम्रो क्षेत्र एकै छैन अनि लक्ष्य पनि फरक छ । कसरि बिहे गर्ने होला भनेर आमासँग गुनगुन गरि रहें । अनेक नमिल्ने बिषय र वस्तु देखाएर नाई नास्ती गरेर टाल्न खोजें । उम्किन सकिने अवस्था रहेन यस पल्ट ।
“एक पल्ट भेट न । त्यस पछी मात्र निर्णय गर । भेटघाट मै बिहे गरि हाल्नु पर्ने पनि छैन । हाम्रो मन पनि रहन्छ ।“ यस्तै अनेक करकाप र आग्रहमा मैले मन्जुरी दिन कर लाग्यो । स्वभावको भिन्नताको कुरै कुरामा झल्यास्स रविनालाई सम्झें । मुस्काएँ ।
कती भिन्न स्वभावकी छे र पनि हमिसंग घुलमिल हुन्छे ..सोचिरहें । तर बिवाहको कुरा त जीवनको लामो सफरमा दुई यात्री एकै साथ् हिड्नु थियो । साथै लामो यात्रा तय गरेर जीवनको गन्तब्य भेट्नु थियो ।
आमाको केहि दबाब र केहि आफ्नै मनको सुझाव लिएर मैले सबिनसंग भेट्ने निधो गरें । हाम्रो पहिलो भेटको समय तय भयो । पहिले पल्ट सामान्य भेट्यौ । त्यस पछी निरन्तर केहि सिलसिला चले भेटघाटको ।
हाम्रो बिहे हुने भयो ।
मेरो बिहेको कुरा पक्का पक्कि हुँदा रविनाको पढाई सकिएको थियो । उ बैंक जागिरको तलाशमा थिइ । सम्पर्कमा थियौ तर उ बस्ने ठेगाना थाहा थिएन मलाई । उसको फोन नम्बर थियो मसंग । म बिहे गर्दै छु भनेर औपचारिक खबर फोन द्वारा नै दिएँ । मेरो बिहेको कुरामा उसले खासै खुशी जाहेर गरिन । मलाई लाग्थ्यो उसले यी यावत औपचारिकताहरु सिकेकी नै छैन । साच्चै भन्नु पर्दा उ निकै रुखो स्वभावकी पनि थि ।
डाक्टर सरिताले भन्ने गर्नुहुन्थ्यो “ कस्तो बेमेल छ तिमीहरुको स्वाभाव र मित्रता । तर रविना माया लाग्दी छ ।“
एकदिन बजारमा अचानक भेट भयो रविनासंग । म र सबिन बिहेकै गहनाहरु हेर्न र सरसल्लाह गर्न साथ निस्केका थियौं । मैले दुबैको परिचय गराएँ । उसले सामान्य रूपमा परिचय स्वीकार गरी । सबिनसंग पहिलो भेट थियो उसको ।
उ आदत अनुरूप खासै बोलिन । हामी तीनैजना संगै खाजा खान भनेर एउटा रेस्टुरेन्टमा छिर्यौ । गफहरुसंगै खाजा सकेर हामी छुट्टियौ ।
“ सबिन निकै सुन्दर छन । कल्पनाकै राजकुमार झैँ । तिमी भाग्यमानी छौ गीत ।“ केहि दिन पछी फोन गर्दै हाम्रो भेटको प्रतिक्रियामा उसले मलाई भनेका शब्द यहि थिए । कहिल्यै कुनै कुराको बनावटी प्रदर्शन गर्न नजान्नेले पनि सबिनको प्रशंषा गरि त्यो दिन । म झन् खुशीले मात्तिए ।
हाम्रो बिहेको दिन तोकियो । दुई महिना बाँकि थियो । दुवै परिवार बिहेको तयारीमा तातिएका थिए । सबिनसंग भेटघाट पातलिएको थियो मेरो ।
“ गीत, के छ ? सन्चै छौ ? बिहेको तयारीमा व्यस्त भएर सबै कुरा र सबैलाई भुल्या हो तिमीले ?” एकदिन अचानक डाक्टर सरिताको फोन आयो ।
“ अलि अलि व्यस्त त हो … अनि भुली हालेको खासै हैन है । कामको चाप अलि बढेको छ । बिदा पनि मिलाउनु छ । तिम्रो के छ ?” मैले सोधें । यसरि हामी बीच केहि बेर यता उताको कुरा भयो ।
“ गीत, एउटा कुरा सोध्नु थियो तिमीसंग । अन्यथा नलिनु है । हुन त सोध्नु उचित होला या नहोला खै । तर म तिम्रो शुभचिन्तक हुँ “ डाक्टर सरिता औपचारिकतामै बोलीन ।
“ अरे ! किन यति धेरै औपचारिकता ….सजिलो गरि नै भन न “ मसंग सरिताले यसरि कुरा गरेको पहिलो पटक थियो ।
“मैले दुइ दिन अघि सबिन र रविनालाई संगै देखेकी थिएँ । उनीहरु परिचित त पक्कै थिएनन् ? परिचय भए पनि साथी थिए जस्तो मलाई लाग्दैनथ्यो । फेरी के कारण हुन सक्छ ? प्लिज टेक इजिली है ” सरिताले भन्दै गईन ।
“ मैले परिचय गराएको थिएँ । सायद बाटोमा भेट्टीए होलान ।“ मैले सुने पछी सरिताको कुरालाई सामान्य रूपमा लिएको जताएँ ।
“तर उनीहरु घनिष्ट देखिन्थे ” उनले हाम्रो कुरालाई टुङ्गो दिनु अघि भनिन ।
मैले फोनको अन्तिम शब्दहरुलाई सहज गरि लिन खोजें तर मन अशान्त भैदियो । दुवैले यो भेटको कुनै चर्चा गरेका थिएनन मसंग ।
म निकै दोहोरो अवस्थामा रहे । फेरी ब्यस्ततामा यी कुरा बिर्सी पनि हालें ।
“ गीत, मलाई तिमीसंग भेट्नु पर्ने थियो । समय मिलाउन सक्छौं आज ?” एकदिन सबिनले फोनमा भने । बिहेको तीन हप्ता जती बाँकी रहेको थियो ।
“ केहि खास छ र ? म आज साँझ फुर्सदिलो छु । भेट्न सकिन्छ “ मैले फ्रयाङ्क भएर भनें । समय र ठाउँ तोकिए पछी त्यहि भेट्ने सम्झौता भयो ।
हामीले तय गरेको ठाउँमा भेट गर्यौं । सायद जिन्दगि यस्तै मोडहरुमा एकैछिन टक्क अडिने गर्छ । रोकिन सक्दैन ।
“ हामीले हाम्रो बिहे रोक्न सक्दैनौ गीत ?” केहि औपचारिकता पछी सबिनको प्रश्न थियो ।
“ हजुर ?” उसको सहज प्रश्नले मलाई स्तब्ध बनायो । अचम्भित टोलाई रहें । बिहेको निर्णय हाम्रो भए पनि यसमा दुवै परिवारको दखल थियो ।
“ मलाई लाग्छ हामीले केहि हतार गर्यौं कि ?” सबिनले मेरो स्तब्ध्तालाई गती दिन खोजे ।
“ अचानक आएर यो कुरा… मैले केहि बुझिन ? अन्तिम मोडमा आएर हतार भयो भन्नु केटाकेटीपन हैन र ? यी केहि दिनमा यस्तो के भयो फेरी र बिहेलाई रोक्नु पर्ने सोच्यौ ?” अनेक सवालहरुसंगै मैले झल्यास्स डाक्टर सरिताको कुरा सम्झें ।
“ एक अर्कालाई राम्रोसंग बुझ्न भ्याई सकेका छैनौ हामीले ?” सबिनको स्वर सुस्त थियो ।
“ मेरो लागि यो बिहे मात्र बिहे नभएर पारिवारिक इज्जतको कुरा हो । मेरो आत्मसम्मानको कुरा पनि हो सबिन । कार्डहरु लगभग तयार छन् । दुरका नातेदारकोमा त पुगी सकेका छन् । म छोरी हुँ मेरो घरको । तिमीले पहिले नै अलि समय माग्नु पर्ने थियो मलाई बुझ्नलाई ।“ मेरो स्वाभिमान नराम्ररी चिमोटियो ।
“ मैले इन्कार नै गरेको हैन बिहेलाई । केहि पछी सार्न सकिन्छ नि ..“ उनि असामान्य देखिए ।
“ इन्कार ? इन्कार नगरेर ममाथि फेवर गर्दै छौं ? कारण के ? कतै कारण रविना त हैन ?” रिस उठ्यो अगाडिको मानिसलाई देखेर । आवेशले मभित्र के के दुखाउन थाल्यो । सबै भन्दा त स्वाभिमान लछारियो ।
“ गीत, त्यस्तो केहि हैन । मलाई अन्यथा नलेउ “ उनी बोल्दा बोल्दै रोकिए । केहि नभने पनि मैले बुझें ।
“प्लिज” सबिन बोल्दै थिए म उठें ।
मलाई अचम्म त रविनाको अबोधपनमा लाग्यो । मेरी साथी भएर उ मेरो बिहे रोकाउने अवस्था पुगी । उसको मासुम अनि मौन मुहार मेरो आँखा वरिपरी आई रह्यो । मेरो भावनाको अपमानमा म एकछिन रन्थनिए ।
“ यो बिषयमा म एक्लैको कुनै निर्णय हुन सक्दैन । मेरो परिवारको इज्जत भन्दा ठुलो तिम्रो खुशी मेरो लागि कदापी छैन ।“ मैले निकै रुखो जवाब दिएँ । उसको नाम लिन पनि मन लागेन । उसंग बिदा पनि नलिई म हिडें ।
बाहिर निस्कें । म भिडबाट केहि टाढा थिएँ । अत्यासले नजर माथि उठ्यो । एक टुक्रा आकाशमा पुर्णिमाको जून देखें । जूनको ओठमा मुस्कान हो या उदासी बुझ्नै सकिन । मैले आकास चियाउँदा चियाँउदै सहरका ठुला ठुला भवनहरुले जूनलाई अङ्कमाल गरें । आलिङ्गनमा लुपुक्क हुदै उ मेरो नजरबाट हराई दियो । मेरो वरीपरी घुप्प अन्धकारको साम्राज्य फैलियो ।
म शिथिल पाईला बोकेर हिडी रहें । हिडी रहदा सोचहरु सर्पहरु जस्तै एक आपसमा गुजुल्टिदै रहे । म लखतरान घर पुग्दा रात निकै छिप्पि सकेको थियो ।
“ कहाँ थियौ ? फोन पनि उठाईनौ ?” आमा मलाई पर्खेर बस्नु भएको रहेछ ।
“अह .. एउटा इमर्जेन्सी केस थियो “ कती सजिलो हुन्छ पहिलो झुट बोल्न । झुटको निरन्तरता कठिन हुन्छ थाहा हुदा हुदै पनि मैले झुट बोलें । झुट त्यो पनि आमासँग ।
“ म थाकेको छु आमा … सुत्छु “ म भाग्न खोज्दै थिएँ आफैबाट ।
“ खाना खाउ ” आमाको ममता छचल्कियो ।
“ मैले अस्पतालमा नै खाएर आएको “ फेरी अर्को झुट …। म कोठामा गएँ । निदले त्यो रात मसंग नाता तोडी दियो । प्रकृतिले मेरो लागि नियम परिवर्तन गरेन । अर्को बिहान भयो । थकानमा आँखा राता थिए । मसंग नाता तोडेको निदको लागी शोक मनाउन सकिन मैले । मेरो दैनिकी सुरु भो ।
बिहेको दिन नजिकिदै गयो । सबिनको व्यग्रता कहाँ पुग्यो मैले खबर लिन चाहिन । बिहे रोक्ने कुनै कुरा उनले फेरी मसंग गरेनन । आफ्नो परिवारमा गर्न सक्ने हिम्मत भयो या भएन खै । मैले चाँसो पनि राखिन । उनले परिवारमा कुरा निकालेको भए अवश्य त्यसको तरङ्गहरु मसम्म आई पुग्नु पर्ने हो .. । मेरो वरिपरीको समय स्थिर हुनुले मलाई उसको आँटको औसत थाहा भयो । उ प्रती अलिकति पनि दया लागेन मलाई ।
यो बिचमा रविना मौन नै थिई । उसको मौनतामा मैले उसको बदनियतीको शंका गरिन । तर बाहिर देखिने उनीहरुको हर एक पलको खबर मसम्म पुगी रह्यो । डाक्टर सरिताले मलाई विवाह बारे हर कोणबाट सोच्न सल्लाह दिई रहिन ।
म चुपचाप सुनी रहे सरितालाई ।
“ फागुन २५ मा मेरो बिहे छ । तिमीसम्म प्रत्यक्ष बिहेको निम्तो पुर्याउन सकिन । मलाई तिम्रो ठेगाना थाहा छैन । सबिनको हातमा कार्ड पठाएको छु । तर यहि फोनलाई पनि निम्तो ठान है ।“ बिहेको पाँच दिन बाँकी हुँदा मैले रविनालाई फोन गरें । मैले मेरो स्वरमा कुनै किसिमको अविस्वासलाई सामिल हुन दिईन ।
“ अवश्य पनि आउने छु “ रविना उस्तै सहज भएर बोल्दै थिई । थाहा छैन मेरो मिजाजमा उसले रूखोपन भेटि या भेटिन । अभिनयमा उ निकै ससक्त लागि मलाई । उसको स्वरको स्वभाव पनि बलियो थियो । बाँकि केहि कुरा नगरी मैले फोन बन्द गरें ।
बिहेको दुइ दिन अगाडी एक साँझ रबिनाले फोन गर्ने हिम्मत देखाई ।
“हेलो “ मलाई उसको फोनको प्रतीक्षा थियो । मैले निकै रुखो स्वरमा बोलें । मलाई सन्चो बिसन्चो सोधी । जवाब दिएँ तर उसको बारे सोध्न मन लागेन ।
“म सविनलाई माया गर्छु गीत । उ पनि मलाई माया गर्छ । गीत, तिमिले यो बिहे गरेर गलत गर्दै छौ । यो बिहें नगर “ उसको कुराले मेरो शरीरमा पुरै आगो सल्काई दियो ।
“ साँच्चै ? तिमीलाई अरु पनि केहि भन्नु छ यो बारे ?” मैले रन्किएर प्रश्न नै फर्काई दिएँ ।
“तिमि उसंग खुशी हुन सक्ने छैनौ । मैले खुशी हुन दिने नै छैन ।“ उ चिच्याईं फोनमा । अजिब पागलपन हाबी थियो उसमा । स्वरमा आवेश छरिएको थियो ।
“मतलब तिमी मेरो खुशी आफ्नो हातमा भएको दाबी गर्दै छौ “ मैले मजाक गरेर झन् चिढाउन थालें उसलाई ।
“सबिन मेरो हो । म तिमीहरु बीच आई रहने छु गीत । “ उ फेरी चिच्याई । म दङ्ग थिएँ उसको दुस्साहस्मा । मैले एउटा नास्ताको टेबलबाट हात समातेर मेरो घरभित्र छिराएकि थिएँ उसलाई । मनमा राखेकी थिएँ । उसको एकान्तमा साथी बनेकी थिएँ म । उसको उदण्डतालाई अबोध नाम दिएकी थिएँ मैले ।
“ खै हुन सक्ला तर म पछी मात्र “ मेरो स्वरमा मेरो जिद प्रष्ट थियो । मैले फोन काटी दिएँ । मस्तिष्कमा दुबैको मुहार लडीबुडी खेली रह्यो । मलाई दुवैप्रती घृणा लागेर आयो । म अन्यौलमा छटपटीएँ रातभर । मैले बिहेको लागि अस्पतालबाट बिदा लिई सकेकी थिएँ ।
मलाई सबिनको लाचारीपनमा दया लागि रह्यो । उ रविनालाई प्रेम गर्न सक्ने तर आफ्नो प्रेमको पक्षमा किन उभिन नसक्ने । यस्तो मानिससँग म बिहे गर्न जादै छु । म स्तब्ध भएँ तर कठोर पनि ।
बिहेको दिनमा उ गाउँकी कुनै अन्जान अबला युवती झैँ लाग्यो मलाई । शिक्षित भएर पनि हुतिहारा, दम्भ नभएको पुरुष । प्रेम नै थियो भने किन बिद्रोह गर्न सकेन ।
हाम्रो बिहे भयो । म माइतीबाट पराईघर पुगें । जहाँ सबै मेरो र मेरा कहिलिनु थियो अब । स्वागत निकै सभ्य र न्यानो थियो । मभित्र कुनै उत्साह थिएन । मौन बाहिर सबै रिति निभाई दिएँ ।
बिहेको पहिलो रात अपरिचित झैँ हामी बीच अनेकान सम्बादहरु चले । जसलाई मैले बेतुक करार दिएँ । बहस र विवादको मूडमा उनि पनि थिएनन् । म पनि थिइन् । हो रविनाले भने जस्तै बिहेको पहिलो रात नै उ हाम्रो बीच आई ।
“ उसले भने जस्तै हामी बीच आएर के उसले जिती त ?” मनभरी कुरा खेल्यो ।
हामी कोल्टे फेरेर निदाएको अभिनय गरेर एकार्कालाई देखायौं । कोठामा उज्यालोको किरण छिर्यो । फेरी अर्को बिहानको स्वागत गर्न म उठें । यो बिहानले मेरो रुपमा धेरै परिवर्तन बोकेर आएको थियो । जीवनमा पनि सायद यो परिवर्तनले गतिलो छाप छोड्ने छ । म भित्र शुन्य, एकदम खाली थिएँ । लेख्दा लेख्दै छोडिएको नोटबुक जस्तै ।
मले नौलो दैनिकीमा प्रवेश गरें । मैले गर्नु पर्ने सारा सिकाईएका रितीहरु निभाएँ । बिहे भोज सकियो । बिस्तारै पाहुनाहरुबाट घर रित्तिदै गयो । अब हामी परिवारका सदस्य मात्र रह्यौ ।
निर्णयहरु उमेरको हर हिस्सामा आएर उभिने गर्छन । आदतन मानिस मरभूमीमा पानी तलाश गरि रहन्छ । कहिले त भाग्यसंग हातका रेखाहरु पनि बिद्रोह गर्छन ।
“ गीत, मलाई केहि कुरा गर्नु छ तिमीसंग “ सबिन्ले भने । मैले बिहेको एक हप्ताबाट नै जरुरि देखाएर अस्पताल जान सुरु गरेकी थिएँ । हामी बीच औपचारिकताको सम्बन्ध मात्र थियो ।
“ भन ” मैले उसलाई नहेरी भने ।
“मेरो कुनै पनि प्रयोजन थिएन कि हामी दुइ बिचमा रविना आओस । सायद म बहकिएको थिएँ । तर अब हामी एक बन्धनमा छौ ।“ उनि बोल्दै थिए ।
“ मलाई तिमीहरु दुईको बिचमा रहनु नै छैन “ मैले उसको बोली काटीदिएँ ।
“ हैन, हामी दुई बिचमा उ हुनु नै हुँदैन “ उ बोल्यो ।
यहाँ फैसलाहरुको जिम्मेदारी तिमिलाई दिईएको छैन । सायद तिमीले कहिल्यै बुझ्न सक्ने छैनौ बिहे भन्दा अघिको मेरो अनुभवहरु ।“ मैले सविनलाई तंपाई,हजुर सम्बोधन गर्न सकिन ।
“ मैले फैसला गर्न खोजेको हैन । तिमीले कुराहरु तानेर लम्ब्याउन खोज्दै छौ । “ उ पुरुष थियो । एक दुइ कुरा गर्दै हामी बीच विबाद चर्कियो । केहि हप्ता देखि मनभरी घोलिएको विषाक्ति शब्दहरु बनेर मेरो मुखबाट निस्किए ।
मेरा शब्दहरु उसको पुरुषत्वलाई चोट्याउन काफी भैदिए ।
“मुख समालेर बोल “ उनि चर्किए ।
“तिमी आफुलाई सम्हालेर राख, म आफ्नो मुख सम्भालने छु “ मेरो आवेश उछालमै थियो । उनि कोठाबाट निस्किएर गए ।
हामी बिचको बढ्दै गरेको दुरी सासुले नाप्न सक्ने भै दिएछ । मलाई सोध्नु भयो । खासै केहि हैन भनेर उहाँलाई सान्तवना दिएँ ।
हामी नितान्त दुइ फरक दिशा थियौ । बिहेको एक महिना बित्यो ।
मैले बिहे अघि नै बिहे पछी देश छोड्ने उद्धेश्य लिएकी थिएँ । मैले आफ्नै माइतीलाई पनि मनको निर्णय केहि भनेकी थिइन । यहाँ बसेर रविना र सबिनको रमिताको प्रत्यक्षदर्शी हुन चाहन्नथें म ।
“ तिमी के चाहन्छौ गीत, म अती नै जेलिदै जादै छु ।“ एकदिन उनले फेरी कुरा सुरु गरे । उनलाई आमाले अनुमानित केहि भन्नु भयो होला ।
“ म केहि बर्षको लागि देश बाहिर जान चाहन्छु । यो महिनामा मेरो सबै काम हुन्छ होला । त्यसपछी तिमी स्वतन्त्र हुनेछौ ” उनि झस्किनु स्वाभाविक थियो ।
“ मैले यो चाहेको छैन “ उनि निरुत्साहित बोले ।
“कसले चाहेर के हुन्छ यहाँ ?” म बोले ।
“ हामी एउटा सम्बन्धमा छौ गीत । तिमीले कसरि सहज गरेर लिदै छौ ? के तिम्रो निर्णय अन्तिम हो ?” उनि सम्बन्धको दुहाई दिन थाले ।
“मलाई सम्बन्ध बारे न त बहस गर्नु छ, न लम्ब्याउनु छ । मेरो जीवनमा जस्तो भुइचालो तिम्रो जीवनमा छैन सबिन । बिहे अघि रविनाले मलाई मेरो खुशी खोस्ने धम्कि दिएकी थिई । उसका शब्द शब्द कुनै रेकर्ड भएको अडियो झैँ गुन्जी रहन्छन मेरो कानमा हरपल । “ मैले रविनाले बिहे भन्दा दुइ दिन अघि भनेका एक एक कुराहरुलाई दोहराई दिएँ ।
“ उ आफ्ना अनर्गल हर्कतबाट तिमीलाई चिढाएर मेरो बिरुद्धमा तिमीलाई नै प्रयोग गर्दै छे । उ यहि चाहन्छे हामी बिचमा दरार पैदा होस् । तिमी त्यति अबुझ त नबन । मलाई उसंग प्रेम हुन्थ्यो भने मैले सजिलै बिबाहको लागि इन्कार गर्न सक्थे गीत । “ सबिन सफाई पेस गर्दै थिए ।
“ साँच्चै !” अबिस्वाश सहित मैले उनि तिर हेरे । उनको शान्त स्वर र अशान्त मुहारले सच्चाईको बयान गर्दै थियो सायद ।
“ म उसंग दोस्रो पटक भेट्दा उसका कुराहरुले लोभिएको हुँ । फोनवार्तामा आसक्ती बढ्यो । तर मैले उसलाई चाहेर तिमीसंग बिहेको समय सार्ने कुरा राखेको हैन । म निकै अस्तव्यस्त भएको थिएँ । उसले मलाई यसरि नै हामी बीच आई रहने कुरा गरेकी थिइ । तर मलाई तिम्रो, तिम्रो साथको जरुरत छ गीत । “ उनले लामो निस्वासमा उनका शब्दहरु वजिला थिए ।
मन ऐना नहोस । ऐनाले त सबै बाहिरी रुप देखाउँछ । मन त शिशा होस् । पारदर्शी । जसमा वारिबाट पारीसम्मको दृश्यहरु प्रष्ट देख्न सकियोस ।
यी आदतहरु बडो अजिब छन । कहिले अतीत सबै भुल्न चाहने । कहिले त्यहि अतीतलाई कोट्याई कोट्याई सम्झन खोज्ने । खुशीमा पिडाका रिमिक्सहरु.. या फिक्सन खै ।
हुनत यी दृश्यहरु गैरजरुरि लाग्छन अब ।
सबिनले दिन बनाई दिएको मेरो त्यो रातले मलाई सधै उत्साहित बनाई रहन्छ । जहाँ हामी बीच कोई आउने दुस्साहस गर्न सक्ने छैनन् । हो हामी यो सफरमा साथ् छौ ।
कामना गर्छु यो जिन्दगीको कुनै कुनै पात्रहरु अनि घटनाहरु काल्पनिक नै रहुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *